छाडा कुकुहरुरले बढाउँदै दुर्घटना

छाडा कुकुहरुरले बढाउँदै दुर्घटना


इलाम- इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको संख्यामा वृद्धि भएको छ । कुकुरको संख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् ।

कात्तिक शुरु भए यता मात्र इलाम बजारमा ३० जनालाई कुकुरले टोकेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा ७० जनालाई कुकुरले टोकिसकेको तथ्यांक जिल्ला अस्पतालसँग छ । घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेका दैनिक पाँच देखि सात जना बिरामी आउने गरेको इलाम अस्पतालका आकस्मिक सेवा इन्चार्ज टीका लुइँटेलले जानकारी दिए । गत आव २०८०/८१ मा भने ७३५ जनालाई कुकुरले टोकेर भ्याक्सिन लगाएको उनले बताए ।

फिक्कलबाट आइतबार सदरमुकाम आइपुगेका सन्देश खड्काको मोटरसाइकल कुकुरमा अल्झिएर लड्यो । ‘कुकुर जोगाउने हुँदा बाइक हुत्तिएर नालिमा लड्यो र बचेँ, गाडीमा ठोक्किएको भए ज्यान जाने थियो,’ उनले भने, ‘स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायत सबै सरकारी निकाय यहीँ छन् । छाडा कुकुर व्यवस्थापन गर्नु उनीहरुको दायित्त्व हो ।’

छाडा कुकुरको व्यवस्थापन इलाम नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयले गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । विष हालेर मार्दा पशु अधिकारकर्मीको चर्को विरोध आएपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको स्थानीयले बताए ।

नगरपालिकाले कुकुर व्यवस्थापनका लागि बजेट विनियोजन गरेर योजना अघि बढाएको जनाएको छ । छाडा कुकुरको संख्या बढ्दै गएका कारण मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापनको पहल थालेको जनाएको हो ।

इलाम बजारका छाडा कुकुरको दीर्घकालीन व्यवस्थापन गर्न कुकुरको बन्ध्याकरण शिविर चलाउन लागिएको नगरपालिकाका प्रमुख केदार थापाले बताए । ‘छाडा कुकुरका कारण इलाम बजार अव्यवस्थित तथा दुर्घटनाको जोखिमसमेत बढेकाले कुकुरहरुको यथोचित व्यवस्थापनका लागि बन्ध्याकरण उपयुक्त विकल्प भएको निष्कर्षसहित तयारीमा लागेका छौँ’, नगर प्रमुख थापाले भने, ‘छाडा कुकुरले जथाभावी मानिसलाई टोक्ने गरेपछि त्यसको व्यवस्थापनका लागि कुकरलाई रेबिज विरुद्धको खोप दिने र बन्ध्याकरण गरिनेछ । योजना कार्यन्वयनसँगै सडकमा हिँडडुल गर्ने नागरिक कुकुरबाट सुरक्षित हुनेछन्, रेबिज रोगको जोखिम कम हुनेछ ।’

कुकुरको टोकाइबाट रेबिज सर्ने सम्भावना ९० प्रतिशत हुन्छ । विभिन्न जिल्लामा ‘नो बेबी, नो रेबिज’ भन्ने नाराका साथ रेबिजविरुद्धको खोप लगाउने गरिएको छ । अरु जिल्लामा व्यवस्थापनसहित विभिन्न अभियान चलिरहेको भए पनि इलाममा छाडा कुकुर व्यवस्थापन गर्न नसकिएको पशु प्राविधिक प्रदीप गुरुङले बताए । बजार क्षेत्रमा मात्र २०० हाराहारीमा छाडा कुकुर रहेको अनुमान छ ।