काठमाडौँ- २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको टीकापुर विमानस्थलमा आज नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले पुनः परीक्षण उडान गर्दै छ ।
निगमका कप्तान उज्ज्वल सिलवाल र मनिष विष्टले नेपालगन्जबाट ट्विनअटरलाई टीकापुरमा अवतरण गराउँदै छन् । नेपालगन्जबाट टीकापुर ३८ माइल (६१ किलोमिटर) हवाई दुरीमा पर्छ ।यो परीक्षण उडानका लागि प्राधिकरणबाट उपनिर्देशक ज्ञानेन्द्र भुल, एयरओर्दिनेस अफिसर सम्राट् प्रधान, फ्लाइट अपरेसन इन्स्पेक्टरलगायतको टोली नेपालगन्जबाट टीकापुर निगमको ट्विनअटर विमानमा जाँदै छ ।
पर्यटन मन्त्रालयबाट परीक्षण उडानको संयोजन गरिरहेका पर्यटन राज्यमन्त्री अरुण चौधरी आइतबारै टीकापुर पुगिसेका छन् ।
परीक्षण उडानका लागि टीकापुर नगरपालिकाले सोमबार त्यहाँ थारु संस्कृति प्रदर्शनी, नाचगानलगायतको कार्यक्रम आयोजना गरेको छ ।
कर्णाली नदी र पारी पट्टी जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज तथा भारतसँग नजिकै सीमा जोडिएकाले टीकापुर विमानस्थलको सम्भावना रहेको त्यहाँका स्थानीय सरकार प्रमुखले केन्द्रीय सरकारलाई बुझाउँदै आएका ज्ञापन पत्रमा उल्लेख छ।
समुद्री सतहबाट २ सय ४३ मिटर उचाइमा रहेको टीकापुर विमानस्थलको धावनमार्गको लम्बाई ५ सय ७३ मिटर रहेको छ ।
माओवादी विद्रोह सुरु भएपछि ०५४ सालपछि टीकापुरमा उडान रोकिएको थियो । त्यसअघि त्यहाँ नेपाल वायुसेवा निगमको १९ सिटको ट्विनअटरले अछामको साँफेबगरबाट उडान गर्ने गरेको थियो ।
प्रतिक्रिया