निर्देशक एवम् लेखक सरोज पौडेलले अल्पसङ्ख्यक जाति गन्धर्व परिवारको कथामा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ बनाएका छन् । फिल्म गन्धर्व परिवार बाबु–छोराको सम्बन्धकेन्द्रित रहेको पौडेल बताउँछन् । फिल्ममा अभिनेता विजय बराल ‘गन्धर्व पूर्णबहादुर’को भूमिकामा छन् । उनको जोडी ‘बाटुली’को भूमिकामा नायिका अञ्जना बराइली छिन् । यो फिल्म कात्तिक १५ देखि प्रदर्शनमा ल्याइँदैछ । चाडबाड चलिरहँदा पनि कलाकारहरू फिल्म प्रचारमै व्यस्त छन् । यो फिल्ममा काम गर्दै गर्दाका दुई फरक अनुभूति नायिका अञ्जनाले खबरहबलाई सुनाएकी छिन् ।
उनै अञ्जना बराइलीसँग फिल्म पूर्णबहादुरको सारङ्गी केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानीः
तपाईं फिल्ममा किन ग्रामीण महिलाको पात्रमा देखिएको ?
मेरो पहिलो फिल्म ‘महापुरुष’मा म ग्रामीण पात्र थिइनँ । पुजार सार्की र पूर्णबहादुरको सारङ्गीमा चाहिँ म ग्रामीण महिलाको भूमिकामा छु । यी दुई फिल्म समाजका संवेदनशील विषयमा बनेका छन् । मेरो हकमा यो लागु भएको हो । त्यसै पनि अहिले ग्ल्यामरभन्दा आर्ट फिल्म बढी बनिरहेका छन् । रैथाने कथाको फिल्म बन्दा म यस्ता पात्र निर्वाह गर्छु । ग्याल्मर फिल्मका लागि प्रस्ताव आएको हुन्छ, तर कथा सशक्त हुँदैन । बलियो कथामा खोज्ने क्रममा मैले यस्ता पात्रहरू निर्वाह गरिरहेकी हुँ ।
तपाइलाई नै यस्तो प्रस्ताव किन आउँछ ?
मलाई शहरिया युवतीको चरित्र निर्वाह गर्न प्रस्ताव आएका थिए । त्यस्ता फिल्मका स्क्रिप्ट मलाई कमजोर लाग्यो । एउटा कलाकारलाई राम्रै स्क्रिप्टमा त काम गर्न मन हुन्छ नि राम्रो लागेको स्क्रिप्टमा त मैले काम गरेको नै छु ।
तपाईं हिट फिल्ममा अभिनय गरिसकेकी उदयीमान नायिका हो, स्क्रिप्ट चयन कसरी गर्नुहुन्छ ?
मैले अभिनय गरेका फिल्म हिट भएको छ । भाग्य वा संयोग के भनौं, मलाई नै थाहा छैन ।मलाई स्क्रिप्ट चयन गर्दा एकदमै डर लाग्छ । पहिलो फिल्म ‘महापुरुष’ हिट भयो । त्यसपछि राम्रै फिल्म गर्नुपर्छ भन्ने दबाब हुनेरहेछ । पहिलो भन्दा दोस्रो राम्रो र दोस्रो भन्दा तेस्रो राम्रो हुनुपर्छ है भन्ने लाग्दोरहेछ ।मैले स्क्रिप्ट चयनमा यिनै कुरालाई ध्यान दिन्छु । अनि आफ्नो पात्र पनि कति सशक्त छ भन्ने हेर्छु । सकेसम्म फरक चरित्रमा आफूलाई उभ्याउने कोशिस गर्छु ।
‘पूर्णबहादुरको सारङ्गी’मा ‘बाटुली’ बन्न कत्तिको मिहिनेत गर्नुपर्यो ?
‘बाटुली’ बन्न चुनौती नै भयो । परिस्थिति अनुसारको भूमिका थियो । जस्तो – मैले फिल्ममा युवती, नवविवाहित, गर्भवती र सानो बच्चाको आमाको भूमिका निभाएकी छु । म यी चार परिस्थितिका लागि ‘बाटुली’ बन्नुपर्ने थियो । मलाई सबैभन्दा गाह्रो चाहिँ गर्भवतीको भूमिका निर्वाह गर्दा लाग्यो । शारीरिक रूपमा गाह्रो हुँदा अभिनय गर्न पनि अलिक असहज महसुस भयो । कपडा राखेर पेट ठूलो बनाइएको थियो । एकदमै कसिलो हुने रहेछ । बस्न–उठ्न नै गाह्रो हुने नक्कली पेट बोक्न नै गाह्रो हुँदोरहेछ ।
अभिनेता विजय बराल ‘पूर्णे’ की श्रीमति ‘बाटुली’को भूमिकामा हुनुहुन्छ, बरालसँग तपाईंको पहिलो सहकार्य पनि हो, उहाँसँग काम गर्दा कस्तो महसुस भयो ?
‘कबड्डी’ फिल्म हेर्दा उहाँ रमाइलो व्यक्ति नै हो भन्ने अनुमान गरेको थिएँ । यस फिल्मको वर्कसपमा भेट्दा पनि उहाँ हँसिलो मुद्रामै हुनुहुन्थ्यो । छायाङ्कन स्थलमा पनि हँसिलो र सरल व्यक्ति पाएँ । विजय दाइजस्तो कलाकारसँग काम गर्न सबै नायिकाहरूले पाउनुपर्छ जस्तो लाग्छ । विजय दाइ अभिनयमा लागेको १७ वर्ष भयो । अभिनयप्रति उहाँको बुझाइ गहिरो छ । उहाँबाट सिक्ने अवसर पाइयो ।
‘बाटुली’ पात्रप्रति कत्तिको आशावादी हुनुहुन्छ ?
चलचित्रलाई लिएर एकदमै आशावादी छु । फरक पात्रको भूमिका निर्वाह गरेकी छु । दर्शकले याद गर्ने पात्र नै हो मेरो । बाँकी त दर्शकहरूले नै प्रतिक्रिया दिनुहुनेछ ।
प्रतिक्रिया