यस्ता छन् ‘उज्यालो नेपाल’ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अहिलेसम्मका उपलब्धि

यस्ता छन् ‘उज्यालो नेपाल’ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अहिलेसम्मका उपलब्धि


काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विविध कार्यक्रमसहित २८औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाउँदै केन्द्रलगायत सम्बन्धित निकायसँग समन्वयको अनुरोध गरेका छन् ।

नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै खड्काले आगामी अधिवेशनमा उक्त विधेयकलाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताएका छन् । सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत् नभएका स्थानमा उज्यालो पुर्‍याउन केन्द्रले निर्वाह गरेको भूमिकाको सराहना गरे । विद्युत्मा पहुँच नभएका ग्रामीण इलाकामा नवीकरणीय ऊर्जा उत्पादन गर्न केन्द्रलाई उनले आग्रहसमेत गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी गराए ।

वार्षिकोत्सव समारोहमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाकालदेखि नै केन्द्रले अहोरात्र काम गरी हालसम्म ४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण गरेको जानकारी गराए । केन्द्रले हालसम्म देशका ३६ लाख ५० हजार घरमा नवीकरणीय ऊर्जा सेवा प्रवाह गरेको तथ्यांकसहितको प्रगति प्रतिवेदन ढकालले पेस गरेका थिए ।

देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा पाँच सयभन्दा बढी कम्पनी क्रियाशील रहेका छन् । ती कम्पनीमा ४० हजारभन्दा बढीले रोजगारी पाएका छन् । वार्षिकोत्सवका अवसरमा कर्मचारीहले रक्तदान पनि गरेका थिए ।

नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिएको थियो । जसमा लघु तथा साना जलविद्युततर्फ तारा खोला जलविद्युत लिमिटेड, बागलुङ, सौर्य ऊर्जातर्फ सूर्योदय ऊर्जा प्रालि, जैविक ऊर्जातर्फ जन्दादेवी नेपाल ऊर्जा र दुम्कीबास पोल्ट्री फार्म प्रालि, नवलपरासीलाई पुरस्कृत गरिएको छ । २० वर्षदेखि अनवरत सेवा गरेकी केन्द्रकी प्रशासकीय अधिकृत सृजना पाण्डेलाई दीर्घ सेवाको मूल्यांकनसहित सम्मान गरिएको छ ।