काठमाडौँ । जाजरकोट जिल्लामा एक वर्षको अवधिमा चार जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।
प्रमुख जिल्ला अधिकारी फेरिइरहँदा भूकम्प प्रभावितको काम प्रभावित भएको छ । प्रजिअ फेरिँदा भूकम्प प्रभावितलाई स्थायी आवास निर्माण, दोस्रो किस्ता वितरणलगायतका काम प्रभावित भएकाले सर्वसाधारणले सरकारसँग असन्तुष्टि जनाएका छन् । भूकम्प प्रभावितको दोस्रो किस्ताको रकम निकासा, संघ, प्रदेश तथा स्थानीय तहबिच सम्पर्क समन्वयमा भूमिका प्रभावकारी रूपमा देखाएका प्रमुख जिल्ला अधिकारीको छोटो समयमै सरुवा भएपछि भूकम्प प्रभावित निराशा छन् ।
२०८० साउन २४ गते पदस्थापन भएका प्रजिअ सुरेश सुनारको २०८० चैत १६ गते सरुवा भएको थियो । त्यसै गरी २०८० चैत ८ मा जाजरकोटको प्रजिअ बनेका ऋषिराज आचार्यको २०८१ असार ९ गतेसम्म कार्यरत रहे ।
२०८१ असार १३ गते पदस्थापन भएका प्रजिअ उमाकान्त अधिकारीको २०८१ कात्तिक ८ गते सरुवा भएको छ । अहिले गृह मन्त्रालयले मेखबहादुर मग्रातीलाई प्रजिअ बनाएर जाजरकोट सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई चार/चार महिनामा गरिने सरुवाको विषयलाई लिएर जाजरकोटका विभिन्न नागरिक संस्थाहरूले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।
प्रतिक्रिया