सामान्य प्रशासन मन्त्रालयले तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची बनाउँदै

सामान्य प्रशासन मन्त्रालयले तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची बनाउँदै


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।

मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण संकलन थालिएको मन्त्री गुप्ताले बताएका हुन् ।

विवरण संकलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

खटाइएका कर्मचारीहरूलाई हाजिर गर्न नदिने गाउँपालिका र नगरपालिकामाथि पनि मन्त्रालयले कारबाही गर्ने उनको भनाइ छ । जनताले दैनिक रूपमा सेवा उपभोग गर्ने स्थानीय तहका कुनै पनि कार्यालयमा नगर तथा गाउँपालिका प्रमुख अथवा कर्मचारीहरूबाट हुने कमजोरीमाथि मन्त्रालयले आवश्यक निगरानी गरिरहेको बताउदै मन्त्री गुप्ताले सुशासनको सवालमा सरकार दृढ रहेको र कसैको दबाब वा प्रभावमा आफू नपर्ने स्पष्ट गरे ।

गाउँ वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्यो भने जनताले सेवा सुविधा नपाउने र जनताको सेवा सुविधाका लागि पनि आफू निर्मम भएर अघि बढ्ने विश्वास उनले व्यक्त गरेका छन् । यद्यपि, कोही कर्मचारीको वास्तविक समस्या रहेको खुलेमा उनीहरूका हकमा सहजीकरण गर्न पनि आफू तयार रहेको उनको भनाइ छ ।

कर्मचारी नपुग भएको ठाउँमा मन्त्रालयको ध्यान पुगेको भन्दै उनले अब केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्ने दाबी दोहोर्‍याए । विभिन्न मन्त्रालयमा थुप्रिएर बसेका कर्मचारीहरूलाई पालिकाहरूमा पठाउने काम सुरु भइसकेको जानकारी पनि उनले दिएका छन् ।