रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार


काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

सूर्यदर्शनको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् । कार्तिक १४ मा बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) वसन्त शर्माले बयान प्रमाणित गरेका छन् ।

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले  बताए । उनले भने, ‘कास्कीमा पत्र पठाएका छौँ, पर्व बिदा सकिएपछि ल्याएर अनुसन्धान अघि बढाउँछौँ ।’

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ । बुटवल उप महानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएका हुन् । २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार सो रकम गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका घर भएका गितेन्द्रबाबु (जीबी) राई र पूर्व उपराष्ट्रपति पुत्र दीपेश कुमार पुनसहित २८ जनालाई प्रतिवादी कायम गरेर यसअघि नै अदालतमा मुद्दा दायर गरिएको थियो । तर, त्यसबेला गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाएकोमा प्रश्न उठेपछि अहिले लामिछाने विरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ ।