काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो ।
आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ । अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ ।
१५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन । देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन् ।
२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो । पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो । नेवार समुदायले मंसिर २ गते किजापूजा गरेका थिए । त्यसैले सरकारले तिहारको विदा एक दिन थप गरेको थियो । त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ ।
प्रतिक्रिया