एक सय ६२ सडक मानवको उद्धार

एक सय ६२ सडक मानवको उद्धार


बागलुङ- तेइस दिन अघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज बागलुङ आइपुगेको छ ।

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उद्धार अभियानका सहयोगकर्ता आनी छोयंग डोल्मा सहितको ५० सदस्यीय समूहले हालसम्म एक सय ६२ सडक मानवको उद्धार गरेको जनाएको छ । समूहले एक सय २१ पुरुष, ३६ महिलाका साथै  चार जना बालिका र एक जना बालकको उद्धार गरेको हो ।अभियानकै क्रममा हाल गण्डकी प्रदेशमा उद्धार अभियान जारी रहेको अध्यक्ष अधिकारीले बताए । “पोखरामा दुई बालिकाको उद्धार गरेका छौँ”, उनले भने ।

यसैबीच, कार्यक्रममा बागलुङका स्थानीय तीर्थप्रसाद श्रेष्ठले निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माणका निम्ति एउटा कोठा बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । धौलागिरिका चार जिल्ला कार्यक्षेत्र भएको बागलुङ शाखामा ६३ जना सहयोगापेक्षी आश्रित छन् । हाल मानव सेवा आश्रमको भवन बागलुङ नगरपालिका-४ निरयघाटमा निर्माणाधीन छ ।

चाडपर्वमा कोही सडक पेटीमा बस्न नपरोस् भन्ने उद्देश्यले मेची-महाकाली राष्ट्रिय उद्धार अभियान प्रारम्भ भएको हो । अभियानको खर्च गायिका आनी छोयंग डोल्माले व्यहोरेका हुन् । मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा ५० जना यात्री छन् । केन्द्रले सात वटै प्रदेशका १९ जिल्लामा २५ वटा शाखामार्फत सेवा गर्दै आएका छ ।