मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरू

मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरू


महोत्तरी – मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व शुरू भएको छ । यो पर्व कात्तिक शुक्ल पञ्चमीदेखि शुरू भई १० दिनसम्म मनाइन्छ । ११औँ दिन पूर्णिमामा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन गरिन्छ ।

आजदेखि १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको दीर्घायुको कामना गर्दै मिथिलाको हरेक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक ठाउँमा सामा चकेवा खेल्ने गर्छन् ।

आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाईको हातबाट माटो खनेर ल्याउने चलन छ । सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइन्छ ।

रङ्गिन सामा चकेवालाई राति रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका हरेक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठघाटमा लगेर १० दिनसम्म गीत, नाच गर्दै दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउनुहुन्छ ।

सामा चकेवा पर्व खेल्नाले दाजुभाइको सुस्वास्थ्य रहने, आयु लामो हुने र आर्थिक रुपमा समृद्धि हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जन विश्वास छ ।

त्यसै अनुरुप मिथिलाञ्चलको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्ला सीतामढी, पटना, दरभङ्गा, मुजफ्फरपुर, मधुबनीलगायतमा यो पर्व लोकप्रिय छ ।