वासिङटन डिसी । अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएसँगै नतिजा आउने क्रम जारी छ । हालसम्म ३८ राज्यको नतिजा आएको छ । जसमध्ये २४ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १४ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएका छन् ।
अमेरिकाका ५० राज्यका ५३८ इलेक्टोरल भोट अथवा सिटका लागि भोटिङ मंगलबार भएको थियो । मतगणनामा हालसम्म ट्रम्पले २३० सिटमा जित निकालेका छन् भने ह्यारिसले २०० सिट जितेकी छन् । बहुमत आउन २७० सिट जित्नुपर्ने हुन्छ । अब ट्रम्पले ४० सिटमा जित हात पारे भने उनले बहुमत ल्याउनेछन् ।
राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि निर्वाचन भएको छ । यसमा पनि ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।
यदि ट्रम्पले यो चुनाव जिते भने उनी ४ वर्षपछि ह्वाइट हाउस फर्कनेछन् । ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए। यससँगै कमला ह्यारिसले जितिन् भने उनी पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्नेछिन् । उनी हाल अमेरिकाको उपराष्ट्रपति हुन् ।
प्रतिक्रिया