४ महिनामा ११ प्रतिशत सकियो गौतमबुद्ध क्रिकेट रंगशालाको काम

४ महिनामा ११ प्रतिशत सकियो गौतमबुद्ध क्रिकेट रंगशालाको काम


काठमाडौँ। चितवनको भरतपुरस्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माण सम्झौता भएको ४ महिनामा ११ प्रतिशत काम सकिएको छ । झण्डै ३ बर्षसम्म रोकिएको रंगशालाको काम अगाडि बढाउन हिमालयन कालीञ्चोक बीबीआर जेभीसँग गत असार २३ गते सम्झौता भएको थियो ।

साउनको तेस्रो हप्ताबाट निर्माण थालेकामा हालसम्म ११ प्रतिशत काम सकेको निर्माण कम्पनीका साइट इन्चार्ज विजय ढकालले जानकारी दिए । उनका अनुसार रंगशालाको भिआइपी प्यारापिट टावर बनाउने काम सुरु गरिएको छ । साढे दुई तलाको हुने दुईवटा भिआइपी टावरको जमिन ढलान तथा पिलर उठाउने काम सकिएको छ ।

दसैँ र तिहारका बेला पनि थोरै जनशक्ति राखेर काम गरिरहेको उनले बताए । छठमा धेरै जसो कामदारहरू घर गएकाले काम सुस्त छ । छठलगत्तै दुई सिफ्टमा काम गरेर दुई प्यारापिटमा अलग अलग काम हुने ढकालले जानकारी दिए ।

ठेक्का सम्झौतापछि प्यारापिटतर्फको चार वटा स्ट्याण्डमा सोलिङ गरेर पीसीसी ढलान सकिएको छ । अब प्यारापिटका कामहरूसँगै मैदानको समेत काम अगाडि बढ्ने उनले जानकारी दिए । पुल्चोक इन्जिनियर कलेजका प्राविधिकहरूले बनेर अलपत्र बनेका पिलर तथा रडहरूको परीक्षण हालै सकेका छन् ।