काठमाडौँ । गाजामा शनिबार भएको इजरायली हमलामा १४ जना प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।
खान युनिसको दक्षिणी क्षेत्र स्थित विस्थापित प्यालेस्टिनीको निवासमा भएको हमलामा उनीहरूको मृत्यु भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताएका छन् । प्यालेस्टिनी मानव अधिकारवादी संस्था रेड क्रिसेन्टले आक्रमणमा घाइते भएका ११ जनालाई उपचारका लागि अस्पतालमा लगिएको पुष्टि गरेको छ ।
गाजाको अल–तुफाह जिल्ला स्थित हजारौँ विस्थापितको आश्रय स्थल फहद अल–सबाह स्कुलमा भएको इजरायली आक्रमणमा बच्चासहित पाँच जनाको मृत्यु हुनुका साथै करिब २२ जना घाइते भएको बासलले जनाएका छन् । उनले घाइतेहरूलाई अल–अहली अरब अस्पतालमा लगिएको बताएका छन् ।
यसैबीच, इजरायली सेनाले उत्तरी गाजाको जबालिया क्षेत्रमा दर्जनौँ आतंककारीको मृत्यु भएको जनाएको छ भने रफाहमा धेरै लडाकुहरूको मृत्यु भएको जनाएको छ ।
सेना हाल लेबनानमा हिजबुल्लाह र गाजामा हमाससँग लडिरहेका सैनिकहरूसँग दुई मोर्चाको युद्धमा संलग्न छ । पछिल्लो आक्रमणमा सेनाले लेबनान र गाजामा ५० भन्दा बढी आतंककारी लक्ष्यहरूमा आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । आक्रमण सैन्य संरचना, हतियार भण्डारणलगायतका क्षेत्र लक्षित रहेको विज्ञप्तिमा जनाइएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार इजरायलको सैन्य आक्रमणले अधिकांश नागरिकसहित कम्तिमा ४३ हजार ५०८ जनाको ज्यान लिइ सकेको छ ।
प्रतिक्रिया