म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार

म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार


म्याग्दी– केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछी जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ ।

सहरबजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछी पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो ।

कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेश्की दिएर जान थालेका मालिका गाउँपालिका–२ का किसान रणबहादुर शिर्पालीले बताए ।

मालिका गाउँपालिका–६ का उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले गत वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गरेकामा यस वर्ष साढे तीन सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती विस्तार गरेका दिच्यामका वीरबहादुर विकले बताए । गत वर्षको भन्दा एक सय २० रोपनी बढी जग्गामा यस वर्ष कोदोखेती विस्तार गरिएको उनको भनाइ छ ।

पोषणविज्ञहरूका अनुसार कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई उपयुक्त मानिन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष म्याग्दीमा कोदोको उत्पादन बढ्ने भएको छ । गत वर्षको तुलनामा शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढ्ने केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । उनले अनुकूल मौसम, रोग कीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा कोदो उत्पादन बढ्ने बताए । गत वर्ष म्याग्दीमा दुई हजार दुई सय ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती गरिएको छ ।