‘प्रचण्ड’ले भने-सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाएर विज्ञ समूहबाट मन्त्री बनाउनुपर्छ

‘प्रचण्ड’ले भने-सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाएर विज्ञ समूहबाट मन्त्री बनाउनुपर्छ


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

थाहा नगरको बज्रबारहीमा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले शासकीय स्वरूपमा परिवर्तन नआइन्जेल नेपालमा स्थिरता कायम नहुने बताउँदै उनले अबको व्यवस्थामा सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनु पर्ने र विज्ञ समूहबाट मन्त्री बनाउनुपर्ने बताएका हुन् ।

निर्वाचन प्रणालीको स्वरूप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउँदै देशमा स्थिरता कायम गर्नु आजको आवश्यकता रहेको र सोही विषयमा मात्र संविधान संशोधन हुनसक्ने उनले बताए ।

अहिलेको सरकारले प्राप्त अधिकार र उपलब्धिलाई खोस्ने गरी संविधान संशोधन गर्न खोजेको देखिएको भन्दै ‘प्रचण्ड’ले माओवादीले उक्त अवस्था आउन नदिने दाबी गरेका छन् ।

सहकारी ठगीको विषयमा सरकारले राजनीतिक रूपमा प्रतिस्पर्धामा रहेको शक्तिलाई कमजोर बनाउने खेलमा सक्रिय भएको भन्दै आफ्नो र पराईको व्यवहार नगरी ठगीको विषयमा सबै पक्षमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।