मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी विराटनगरबाट पक्राउ, काठमाडौं ल्याउने तयारी

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी विराटनगरबाट पक्राउ, काठमाडौं ल्याउने तयारी


काठमाडौं– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइन लागेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ । उनलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए ।

उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ । संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको थियो ।उनी नेपाल फर्किनासाथ मन्त्रीबाट राजीनामा दिएका थिए भने एमालेले पनि शनिबार पार्टीबाट निलम्बन गरेको छ ।

मन्त्रालयको नक्कली कागजात बनाएर जापान गएका तीनसमेत मन्त्री अधिकारीलाई जापानको विमानस्थलबाटै डिपोर्ट गरिएको थियो ।  नक्कली कागजात बनाएका तीन जनालाई  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकेको छ ।