काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएको छ ।
आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाई जहाजमार्फत काठमाडौँ ल्याइएको हो । त्रिभुवन विमानस्थलबाट उनलाई कहिबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याइएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीले भने, “नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो, अहिले प्रहरी परिसरमा ल्याइएको छ, अब केहिबेरमा थप प्रक्रिया अघि बढाइने छ।”
यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु. १० लाख बुझाएको प्रहरीले दाबी गरेको छ ।
यसैगरी नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई गरेको कारबाहीलाई शनिवारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
प्रतिक्रिया