इच्छुमती सफाइमा महानगर

इच्छुमती सफाइमा महानगर


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । इच्छुमतीको भद्रकाली, सिंहदरवार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिए। इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन् ।विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो । छ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोतल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो । महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ ।महानगरले काठमाडौँ उपत्यकामा भएर बग्ने वाग्मती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि यसरी सफाइ गर्दै आएको छ । नागरिकस्तरबाट सुरु भएको वाग्मती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरे पनि उपत्यकाका अन्य नदी भने सफा हुन सकेका छैनन् ।