मन्त्रिपरिषद्ले निर्णय गरे पनि उद्योगमा जोडिएन बिजुली

मन्त्रिपरिषद्ले निर्णय गरे पनि उद्योगमा जोडिएन बिजुली


काठमाडौँ- आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोड्न भनी दिएको निर्देशन नेपाल विद्युत प्राधिकरणले पालना गरेको छैन ।

ऊर्जा मन्त्रालयमार्फत सोमबार १२ बजेभित्र लाइन जोड्न मन्त्रिपरिषद्बाटै निर्णय गरी निर्देशन दिइए पनि साढे १ बजेसम्म लाइन नजोडिएको हो ।

सोमबार साढे १ बजेसम्म पनि आफ्नो उद्योगमा लाइन नजोडिएको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए ।

अर्घाखाँची सिमेन्ट मात्र होइन, गत कात्तिक ८ गते राति लाइन काटिएका २८ मध्ये कुनै पनि उद्योगमा अहिलेसम्म लाइन जोडिएको छैन ।

मन्त्रिपरिषद बैठकले उद्योगमा काटिएको लाइन सोमबार १२ बजेसम्म जोड्न र टीओडी मिटरको तथ्यांकका आधारमा १५ दिनभित्र उद्योगीबाट बक्यौता उठाउन निर्देशन दिने निर्णय गरेको थियो ।

यससँगै डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद समाधान गर्न बनेको लालआयोगको प्रतिवेदन पनि सार्वजनिक गर्ने निर्णय सरकारले गरेको थियो ।

यो समाचार लेख्दासम्म उक्त प्रतिवेदन पनि सार्वजनिक भएको छैन । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारको ठाडो आदेश पालना नगर्ने अडान लिएको स्रोतको दाबी छ ।

घिसिङले मन्त्रिपरिषद्को औपचारिक निर्णयसहितको पत्र पर्खिरहेका छन् भने उक्त पत्र आएपछि बोर्ड बैठक बसेर मात्र लाइन जोड्ने निर्णय गर्न सकिने अडानमा उनी रहेका छन् । मन्त्रालय स्रोतले भने उद्योगमा लाइन जोड्न प्राधिकरणलाई मौखिकरूपमा भनिसकेको जानकारी दियो । ‘लिखित प्रक्रिया पूरा गर्न केही समय त लाग्छ नै, तर मन्त्रिपरिषदले नै निर्णय गरिसकेको अवस्थामा कागज नै चाहिन्छ भनेर अडान लिनुहुँदैन,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने ।