निजगढमा सामूदायिक आँखा अस्पताल सञ्चालन

निजगढमा सामूदायिक आँखा अस्पताल सञ्चालन


काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानले ‘द फ्रेड हलोज फाउण्डेसन’ अष्ट्रेलियासँगको सहयोगमा बाराको निजगढमा सामुदायिक आँखा अस्पताल निर्माण सम्पन्न गरी सेवा शुरु गरेको छ।

अस्पताल परिसरमा आयोजित समारोहमा बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल उद्घाटन गरेका हुन्।

करिव ३० करोडको लागतमा बनेको यस अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ। अस्पतालले स्थानीय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्य लिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस आँखा अस्पतालले आँखा उपचारको लागि मात्र नभएर मेडिकल टुरिजमको लागि पनि योगदान दिन विश्वास व्यक्त गरे।  उनले भने ‘भवन ठूलो कुरा होइन भवनभित्र पाउने विश्वस्तको गुणस्तरीय सेवा र उपचार पाउनु ठूलो कुरा हो। जुन तिलगंगा आँखा अस्पतालले सधैँ प्रदान गरिरहेको छ अब त्यही स्तरको सेवा निजगढमा पनि उपलब्ध हुने विश्वास लिएको छु।‘

त्यसैगरी उनले अस्पतालको लागि मधेश प्रदेशको सधैँ साथ र सहयोग रहिरहने बताए। निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले निजगढवासी तथा यस क्षेत्र जनताका लागि यो एकदमै खुशीको क्षण र ठूलो उपलब्धी भएको बताउँदै नगरवासीको तर्फबाट आभार व्यक्त पनि गरे ।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा.सन्दुक रुइतले मध्य तराईको यस भेगमा गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य अस्पताल ल्याउने सपना आज साकार भएको बताए। उनले भने ‘दिगो र उच्च गुणस्तरको आधारभूत आँखा उपचार सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा यो अर्को महत्त्वपूर्ण कदम हो। यो अस्पताल आशा र समर्पणको प्रतीक हो जसले आँखा उपचारको आवश्यकता भएका सबै बिरामीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई अगाडि बढाउँछ।”

द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले यो सहकार्य फाउन्डेशनको लागि नयाँ अध्यायको सुरुआत भएको भन्दै तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको बताए। उनले भने ‘हाम्रो कामको केन्द्रमा सधैँ एकीकृत, जनमुखी आँखा उपचार हुन्छ र हामी निजगढ र वरपरका सबैभन्दा आवश्यकता भएका बिरामीहरूको दृष्टि जोगाउने र पुन स्थापना गर्ने उद्देश्यमा लागिपरेका छौं।‘

नेपालमा करिव ९३ हजार तीन सय जना दृष्टिविहीन रहेको र करिव ७ लाख ८२ हजार सात सय जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्या सहित जीवन व्यतीत गरिरहेको तथ्यांक छ। अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ तथापि, ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिन्छ।

प्रतिष्ठान अन्तर्गतको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले मोतीबिन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी, र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधि र समग्र सेवा प्रदान गरिनेछ। नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतीबिन्दु हो। अन्धोपन भएका मध्ये अनुमानित ६६.८ प्रतिशत व्यक्ति मोतीविन्दुको कारणबाट भएको देखिन्छ।

२३,००० फिट क्षेत्रमा फैलिएको यो अस्पतालमा ४ तला रहेका छन्, जसमा आँखा उपचारका लागि २ शल्यक्रिया कोठामा ४ वटा वेड, ओपेडी (आउटडोर पेशेन्ट विभाग) र आइपीडी (डे केयर) एक पोष्ट अपरेटिभ वार्ड, र इन–हाउस फार्मेसी र अप्टिकल स्टोर रहेको छ। विभिन्न विधाका विशेषज्ञद्वारा विशिष्टीकृत आँखा उपचार सेवा समेत प्रदान गर्नेछन्, जसले मधेश प्रदेशमा उच्च गुणस्तरको उपचार सेवामा पहुँच वृद्धि गर्नेछ।

आगामी पाँच वर्षमा, यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ। यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रूपमा यस क्षेत्रका ३० लाख भन्दा बढी व्यक्तिहरूमा गुणस्तरीय आँखा सेवाको पहुँच विस्तार गर्ने  आकंलन गरिएको छ।

उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री श्री सतीश कुमार सिंह,प्रा.डा.रुइट, फाउण्डेसनका इयान विशार्ट, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, जिल्ला तथा स्थानीय निकायका जनप्रतिनिधिहरू,सरकारी कार्यालयका प्रतिनिधिहरू, स्वास्थ्य कार्यकर्ताहरू र विभिन्न संघसंस्थाका प्रमुखहरू, नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुिहृद घिमिरे, कार्यक्रमका बोर्ड सदस्यहरू हरिवंश आर्चाय, सिद्धीलाल श्रेष्ठ, रवि के.सी.,संजय थापा, डा.गोविन्द राज पोख्रेल, प्रतिष्ठानका मुख्य कार्यकारी अधिकृत डा. रीता गुरुङ, प्रमुख संचालन अधिकृत पीताम्बर अधिकारी र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।