ठगी र संगठित अपराध कसुरमा तेस्रो दिन पनि लामिछानेसँग बयान जारी

ठगी र संगठित अपराध कसुरमा तेस्रो दिन पनि लामिछानेसँग बयान जारी


काठमाडौँ । सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्कीबाट रूपन्देही ल्याइएका रास्वपा सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसित बिहीबार पनि जिल्ला सरकारी वकिल कार्यालयले बयान सुरु गरेको छ ।

लामिछानेलाई मंगलबार मध्याह्न कास्कीबाट रुपन्देहीको भैरहवा ल्याइएको हो । त्यसलगत्तै सरकारी वकिल कार्यालय पुर्‍याएर बयान सुरु गरिएको थियो ।

मंगलबार दिउँसोबाट बयान लिन थालिएकामा बयान पूरा नभएपछि बुधबार लामिछानेलाई १० घण्टा जिल्ला सरकारी वकिल कार्यालयमा राखेर बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार बुधबार साँझ सवा ७ बजेसम्म बयान लिइएको हो ।

बयान पूरा नभएकाले तेस्रो दिन बिहीबार बिहान १० बजे लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको छ । कार्यालय पुर्‍याए लगत्तै बयान लिन थालिएको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले गरेको बचत अपचलनमा लामिछानेको संलग्नताबारे अहिले अनुसन्धान भइरहेको छ ।