काठमाडौँ । संघीयतालाई सबल बनाउन आवश्यक कानुन नै निर्माण हुन नसकेको सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले संघीयता सबल बनाउनका लागि कानुनी प्रबन्ध गर्नुपर्ने बताएका हुन् ।
संघीयता सबल बनाउनका लागि निर्वाचनको व्यवस्था र निर्वाचन कानुनमा सुधारले मात्रै नहुने पोखरेलको भनाइ छ । ‘निर्वाचन सुधारले मात्रै संघीयता सबल हुने होइन, एउटा पक्ष हो तर सबै कुरा होइन, ‘उनले भने, ‘अहिले त आधारभूत कानुनहरू नै बनेको छैन । निजामती ऐन बनेको छैन, प्रहरी ऐन बनेको छैन । शिक्षा ऐन आउन सकेको छैन र बनेका थुप्रै ऐनहरू संविधानको अधिकारका सूचीका दृष्टिकोणले त्रुटिपूर्ण छन् जसको रिभ्यू गर्न जरुरी छ ।’
संघीय प्रणालीमा प्रदेशको संरचना बलियो हुनुपर्ने तर त्यसो हुन नसकेको पनि पोखरेलको भनाइ छ । संघीय संसद्ले कानुन निर्माण गर्दाखेरि प्रदेशहरूलाई प्राकृतिक स्रोतका हिसाबले कमजोर बनाएको पोखरेलको भनाइ थियो ।
प्रतिक्रिया