अमेरिकी विशेष दूत काठमाडौँमा

अमेरिकी विशेष दूत काठमाडौँमा


काठमाडौँ- विश्व युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर काठमाडौँ आएकी छन् । श्रीलंकापछि उनले नेपालको भ्रमण गरेकी हुन् ।

अमेरिकाको स्टेट डिपार्टमेन्टका अनुसार, उनले १२ देखि १५ नोभेम्बरसम्म श्रीलंका र नेपालको भ्रमण गर्ने कार्यतालिका छ । एबीको यो भ्रमणले दक्षिण एसियाका युवाको शशक्तिकरणमा अमेरिकाको भूमिकालाई दर्साउने स्टेट डिपार्टमेन्टले भनेको छ ।नेपाल भ्रमणका क्रममा उनले युवा नेताहरूसँगै सोसल मिडिया इन्फ्यून्सरहरुसँग समेत छलफल गर्नेछिन्। त्यसक्रममा उनले साइबर बुलिङ, अफवाह, मिथ्या सूचना लगायतका विषयमा छलफल गर्ने भनिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले पनि सूचना जारी गर्दै नेपाल भ्रमणका क्रममा उनले नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रमहरूमा सहभागिता जनाउने भनेको छ ।

दूतावासले भनेको छ, ‘उहाँको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउनका साथै युवाहरूलाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणका लागि मद्दत गर्न सहयोग गर्नेछ ।’

डेमोक्रेटिक पार्टीकी नेतृ एबीलाई अमेरिकी राष्ट्रपति जो बाइडनले १२ नोभेम्बर २०२२ मा युवा मामिलाबारे अमेरिकी विशेष दूत नियुक्त गरेका थिए ।