मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार


काठमाडौं–  मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार कार्य गरिएको छ । उद्धार हुनेहरूमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालक रहेको मानवसेवा आश्रमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

उद्धार गरिएकाहरूमा कोसी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी कूल ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी कूल ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कूल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कूल ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र नौ महिला गरी कूल ४९ जना, कर्णाली प्रदेशबाट दुई पुरुष र एक महिला गरी कूल तीन जना र सुदूरपश्चिम प्रदेशबाट छ पुरुष र दुई महिला गरी कूल आठ जना रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा यात्राको औपचारिक समुद्घाटन गरेका थिए भने समापन पनि प्रधानमन्त्री ओलीकै प्रमुख आतिथ्यमा आगामी मङ्सिर ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौंमा समापन हुने जनाइएको छ ।

उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । यस राष्ट्रिय उद्धार टोलीले देशका सातै वटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धारमा सहभागी भएका थिए ।