पहिले कार्यकर्ता भिडाए, अहिले देउवा ओलीको जुँगामा ताउ लगाउँदै छन् : ज्ञानेन्द्र शाही

पहिले कार्यकर्ता भिडाए, अहिले देउवा ओलीको जुँगामा ताउ लगाउँदै छन् : ज्ञानेन्द्र शाही


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जनता भिडाएर एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा मिलेर सरकार बनाएको बताएका छन् । सुदूरपश्चिमको बाजुराको कोल्टीमा आयोजित आमसभालाई सम्बोधन गर्दै सत्ताको लागि कुनै सिद्धान्तविनै मिलेको जिकिर गरे ।

उनले भने, ‘बाजुरामा एमाले भनेपछि काँग्रेसले कुट्ने, काँग्रेस भनेपछि एमालेले कुट्ने, ठोकाठोक गर्ने, प्रत्येक चुनावमा मान्छेको हत्या हुन्छ । अहिले माथि सबै मिलेर सरकार बनाएका छन् । केपी ओलीको जुँगामा शेरबहादुरले ताउ लगाइदिन्छन्, अनि बाजुराका जनता आपसमा लड्छन् । उनीहरूलाई सिद्धान्त चाहिएको छैन । अनि यहाँ आपसमा किन लड्ने ?’

सांसद शाहीले राप्रपा देशको प्रधानमन्त्री जनताले प्रत्यक्ष चुन्न पाउने व्यवस्था गर्ने मागसहित जनताकहाँ आएको बताए ।

उनले थपे, ‘अहिलेको संविधान हामीलाई झुलाउन बनाएका हुन् । ओली र देउवा आलोपालो प्रधानमन्त्री बनिरहेका छन् । जनताबाट जित्न नपर्ने, माधव नेपाल चुनाव हारेको मान्छेलाई पनि यो देशको प्रधानमन्त्री बनाइयो । माथि आफैँ मिलेर जोड घटाउ गर्ने, फेरि प्रधानमन्त्री हुने, त्यसैले राप्रपा आफैँ जनताले देशको प्रधानमन्त्री चुन्ने अधिकार दिनुपर्छ भनेर लागेको छ ।