राष्ट्रिय जीवन बीमा कम्पनीमा सीइओ नियुक्ति अनिश्चित

राष्ट्रिय जीवन बीमा कम्पनीमा सीइओ नियुक्ति अनिश्चित


काठमाडौं- आवेदकहरु कोही पनि अन्तिम छनोट सूचीमा नपरेपछि सरकारी कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति अनिश्चित बनेको छ। छनोटको परीक्षामा आवेदक सबै अनुत्तीर्ण भएपछि छनोट तथा सिफारिस समितिले बुधबार सूचना जारी गरेको छ।

कम्पनीमा रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि छनोट गरी सिफारिस गर्न असोज तेस्रो साता दरखास्त खुलेको थियो। कम्पनीले उक्त पदका लागि शैक्षिक योग्यता बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्छ। साथमा व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए ५ वर्ष, बैंक वा वित्तीय क्षेत्र भए ८ वर्ष तथा दुवै क्षेत्रमा भए कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभवी हुनुपर्ने मागिएको थियो।

२१ दिनको म्यादमा चार जनाको आवेदन परेको थियो। दरखास्त दिने उम्मेदवारहरूले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्नेलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ।

कुनै पनि उम्मेदवारले कुल पूर्णाङ्क को ६० प्रतिशत अंक प्राप्त गर्न नसकेको समितिको सूचनामा उल्लेख छ।