रुपन्देही । पूर्व पश्चिम राजमार्गअन्तर्ग बुटवल-नारायणगढ सडक खण्ड विस्तारको काम दुई पटक म्याद थपिँदा पनि ५३ प्रतिशतमात्रै सकिएको छ । पहिलो पटक ३५० र दोस्रो पटक ३६५ दिन थपिए ११३ किलोमिटर सडक विस्तारको कामको आधामा पनि नसकिएको हो । अहिले तेस्रो पटक एक वर्ष म्याद थपिएको छ ।
एसियाली विकास बैंकको सहयोगमा यो सडकको ठेक्का करिब १७ अर्ब रुपैयाँमा लाग्ने आंकलन छ । दाउन्ने पहाडको केही भागबाहेक अन्यत्र यो सडक ४ लेनको बनाइँदैछ । २०७९ साउन २२ भित्र काम सक्ने गरी २०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो । यो सडकको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।
त्यसबेला एमालेकै रघुवीर महासेठ भौतिक योजनामन्त्री थिए । त्यतिबेला ओलीले २०८० सम्म सडक र त्यसपछि सुरुङ युग शुरु हुने भन्दै निर्धारित समयमा काम सकिने बताएका थिए ।
दुई खण्डमा विभाजन गरी ११३ किमि सडकमध्ये ७० किमि ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक र बीचमा ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्नेछ । अहिलेसम्म ८० किमि दुई लेन र ४० किमि चार लेन सडकमात्र कालोपत्र भएको छ ।
तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक २०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ ।
यो वर्ष वर्षापछि सडक विस्तार ठप्प जस्तै छ । काममा ढिलाइ भएपछि सरकार ठेक्का तोड्ने चेतावनीबाट भने पछि हटेको छ । २०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो ।
दोस्रो पटक आयोजनाले परामर्शदातामार्फत एनटीसी (नोटिस टु करेक्ट) जारी गर्दै तोकिएको समयभित्र काम नसके ठेक्का तोड्ने चेतावनी दिएको थियो । एनटीसीअनुसार सन् २०२४ डिसेम्बरसम्म एक साइडको काम ७० प्रतिशत सकिसक्नुपर्ने र २०२५ को मार्चसम्म कम्तीमा एक साइडको पूरै काम सकेर यातायातका साधन चल्ने बनाउनुपर्नेछ । तोकिएको सर्तअनुसार काम नभए ठेक्का तोड्नुको विकल्प नहुने सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए ।
एसियाली विकास बैंकको ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । अहिलेसम्म पेस्कीसहित साढे ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ, तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ ।
सरकारले ठेकेदारको मागअनुसार म्याद थप गर्दै आएको छ । जनताले सास्ती खेपिरहेका छन् । वर्षौंसम्म सडक अलपत्र पार्ने ठेकेदारलाई जरिवाना गराएर ठेक्का रद्द गर्नुपर्ने स्थानीयको माग छ । नारायणगढ-बुटवल सडक खण्डको पूर्वी र पश्चिम खण्डमा ६ वर्षमा ५३ प्रतिशत मात्र काम भएको छ ।
यो क्षेत्रमा सबैभन्दा बढी समस्या दाउन्ने खण्डको १५ किलोमिटर पार गर्न छ । थोरै पानी परे पनि यहाँ समस्या छ । मोटरसाइकल तथा साना सवारीलाई त झन् यो खण्डको यात्रा थप कठिन हुने गर्दछ । धूलोले अगाडिको सवारी नदेख्दा दिउँसो नै बत्ती बालेर हिँड्नुपर्ने अवस्था छ ।
तेस्रो पटक थप भएको म्यादसमेत चार महिना बितिसकेको छ । वर्षाको कारण रोकिएको काम असोज १ गतेबाट सुरु गर्ने भने पनि अहिलेसम्म कामदार फिल्डमा देखिएका छैनन् । वर्षाको कारण देखाउँदै रोकिएको काम अझै सुरु भएको छैन । सडक विस्तारको क्रममा खनिएका खाडल नपुर्ने, वर्षौंसम्म सडक मर्मत नगर्दा सवारीसाधन सञ्चालनमा असहज हुने गरेको छ ।
सरकारी निकायबाट पटक-पटक सडक निर्माण र मर्मतको लागि ताकेता गर्दासमेत ठेकेदारले टेरेको छैन । सम्झौताअनुसार काम नगर्ने ठेकेदारले सरकारलाई उल्टै रकम नभएको र मर्मतको कामसमेत आफूहरुले तत्कालै गर्न नसकिने भन्दै आएको छ ।
प्रतिक्रिया