भारतका सेनाध्यक्ष द्विवेदीलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

भारतका सेनाध्यक्ष द्विवेदीलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै


काठमाडौं – नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ ।

नेपाली सेनाका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शीतल निवासमा आयोजित कार्यक्रममा सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरिदै छ ।

नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एक अर्काले मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ । द्विदेवी प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौँ आएका थिए । नेपाल भ्रमणको क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

त्यस्तै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गरिने नेपाली सेनाले जनाएको छ।

भ्रमणका दौरान उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नेछन् । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ ।