काठमाडौ । त्रिवि आइओएमबाट छात्रवृत्तिमा एमबिबिएस गरेका भोजपुरका डा आशिष दाहाल अमेरिकासम्म पुगे, तर क्यासिनोको लतले टाट पल्टिएपछि स्वदेश फर्किएका उनी अल्डरवर्ल्डको नाममा धम्क्याएर पैसा माग्ने आपराधिक गतिविधिमा होमिए । पूर्वी पहाडी जिल्ला भोजपुरका आशिष दाहालको करिअरमा सुदूर भविष्यको पहिलो उपलब्धि त्यति वेला प्राप्त भयो, जब एमबिबिएस पढ्न सरकारी छात्रवृत्तिमा नाम निकाले । उनले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)बाट छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरे । एमबिबिएस सकाएपछि करिअरको अर्को खुड्किलो चढ्ने अपेक्षासहित उनी सन् २०१७ मा अमेरिका गए ।
अमेरिकामै मेडिकल अभ्यास गर्ने सपनासहित त्यहाँ पुगेका उनी त्यहाँको चिकित्सक अनुमतिपत्र ९युएसएमएलई०को परीक्षामा अनुत्तीर्ण भए । बरु अमेरिकामा क्यासिनोको लतले उनलाई रसातलमै पुर्याइदियो । क्यासिनोमा भएभरको पैसा हारेर टाट पल्टिएपछि उनका दुर्दिन सुरु भए । लाइसेन्स परीक्षामा फेलको पीडा र ऋण बोकेर अमेरिका छाड्नुपर्ने अवस्थामा पुगे । तनावको भारी बोकेर २०१८ मा स्वदेश फर्किए । स्वदेश फर्किँदा उनीसँग ४० लाख रुपैयाँ ऋण थियो । नेपाल आएपछि बुबाआमाले जोडेको इमाडोलको जग्गा बेचेर २५ लाख ऋण तिरे, बाँकी १५ लाख काम गर्दा पनि तिर्न सकेनन् । त्यसपछि अब उनले जिन्दगीलाई अपराध कर्मतिर मोड्न थाले ।
अन्डरवर्ल्डको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएर पैसा मागेको आरोपमा ३२ वर्षीय दाहाललाई प्रहरीले बुधबार पक्राउ गरेको छ । ग्वार्को बस्ने उनी त्यहाँकै एक निजी क्लिनिकमा काम गर्दै आएका थिए । एमबिबिएस मात्र उत्तीर्ण गरेकाले उनको आम्दानी पनि न्यून थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक रोशन खड्काका अनुसार आर्थिक संकटमा फसेका दाहालले नयाँ सिमकार्ड निकालेर धम्क्याउने योजना बनाएका थिए । आफ्नै सहकर्मी तथा सामान्य चिनजान भएका व्यापारीहरूलाई ह्वाट्सएपमा म्यासेज पठाएर ५० हजारदेखि दुई लाख रुपैयाँसम्म मागेका थिए ।
आफू ‘अल्डरवर्ल्ड’को एजेन्ट भएको भन्दै पैसा नदिए कन्ट्रयाक्ट किलरमार्फत हत्या गर्नेसम्मको धम्की दिएका थिए । अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार पक्राउपछि दाहालले आफू क्यासिनोको लतका कारण आर्थिक संकटमा फसेको र सोही कारण यस्तो काम गरेको बताएका छन् । सन् २०१७ मा उनी अमेरिका गएको, त्यहाँ नियमित क्यासिनो जाने गरेको र ठुलो रकम हारेपछि नेपाल फर्किएर आपराधिक योजनामा लागेको खुल्न आएको ती प्रहरी अधिकारीले बताए ।
कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए । काठमाडौं परिसरले आपराधिक लाभ मुद्दामा उनीविरुद्ध अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया