काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसलाई कसैले दबाउन खोजे आफैँ समाप्त हुने बताएका छन् ।
बिहीबार रौतहटको ईशनाथ नगरपालिका-७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधनका क्रममा उनले काँग्रेसकै कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको दाबी गर्दै आफ्नो पार्टीलाई बलियो बनाउनुपर्ने बताए । ‘काँग्रेस ठूलो इतिहास बोकेको पार्टी हो, ‘उनले भने, ‘काँग्रेसलाई कसैले दबाउन खोजे आफैँ समाप्त हुन्छ । राणा र राजतन्त्रविरुद्ध लडेको पार्टी हो ।’
काँग्रेसले राणा र राजा फालेर देशमा इतिहास रचेको भन्दै उनले मंसिर १६ गते हुने उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन मतदातालाई आग्रह गरे । उनले काँग्रेससँग मधेसको विशेष सम्बन्ध रहेको समेत उल्लेख गरे । मधेसको विकास र समृद्धिका लागि काँग्रेसलाई जिताएर अझै मजबुत एवं शक्तिशाली बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा काँग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, काँग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव, मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्रप्रसाद यादवलगायतले बोलेका थिए ।
प्रतिक्रिया