काठमाडौँ- सरकारले श्रीलंकाका लागि नेपाली राजदूतको रूपमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गर्दै संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर २ निवासी पूर्णबहादुर नेपालीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए।
यसअघि, श्रीलंकाको राजदूतका लागि सिफारिस गरिएका रामकृष्ण भट्टराईको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो। उनको न्यूनतम शैक्षिक योग्यता स्नातक पास नभेटिएपछि समितिले अस्वीकृति जनाएको हो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रतिक्रिया