काठमाडौं- विश्वकै धनाढ्य इलन मस्क र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भर्चुअल संवाद भएको छ। मस्कको कम्पनी स्टारलिंकले नेपालमा इन्टरनेट व्यापारमा इच्छा देखाइरहेको छ।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ भर्चुअल संवाद गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार मस्कले स्टारलिंकबारे ओलीलाई ब्रिफिङ गरेका छन्। ओली र मस्कबीच १५ मिनेट कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ। नेपालमा कम्पनीले दिने सुविधा र सहुलियताबारे पनि प्रधानमन्त्रीलाई उनले ब्रिफिङ गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा नै मस्कसँग भेट्न चाहेका थिए। भेट सम्भव नभएपछि शुक्रबार भर्चुअल संवाद भएको हो।
नेपालको विद्ममान कानुनअनुसार कुनै पनि विदेशी कम्पनीले दूरसञ्चार क्षेत्रमा लगानी गर्दा अधिकतम ८० प्रतिशत सेयर हिस्सा राख्न पाउँछ। स्थानीय साझेदारलाई २० प्रतिशत अनिवार्य गरिएको छ। तर स्टारलिंकले १०० प्रतिशत स्वामित्व चाहेको छ।
नेपालमा सेवा भित्र्याउन हरसम्भव बल लगाइरहेको कम्पनीले सेटलाइट इन्टरनेटबारेको भ्रम चिर्न प्रधानमन्त्री ओलीलाई केही समयअघि ‘डेमो’ प्रस्तुत गरेको थियो।
स्टारलिंकका प्रतिनिधिले कात्तिक ९ गते प्रधानमन्त्री ओली, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलगायतलाई आफ्ना उपकरणमार्फत दिने सेवाबारे ‘डेमो’ देखाएका थिए।
स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एण्ड मार्केटिङ एक्टिभेसन निर्देशक रेबिका स्लिक हन्टरसहितको प्राविधिक टोली ‘डेमो’ प्रस्तुत गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो। टोलीले डेमोसहित आवश्यक विवरण ‘सेयर’ गरेको छ।
स्टारलिंकका प्रतिनिधिले प्रधानमन्त्री ओली र मन्त्रीहरुसामु नेपाल भौगोलिकरुपमा विकट भएकाले आफ्नो डिभाइसमार्फत ग्रामीण क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन सकिने बताए। उनीहरुले इन्टरनेट सेवाका लागि आफूहरुले छुट्टै सेटलाइट नराख्ने र डिभाइसबाट काम चलाउन सकिने भन्दै भ्रममा नपर्न आग्रह गरे। ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी, अस्पताल, विद्यालय र सरकारी कार्यालयमा आफ्नो सेवा उपयोगी बन्न सक्ने भन्दै स्टारलिंकका प्राविधिकले ‘स्कोप’ प्रस्तुत गरेका थिए।
स्टारलिंकले पृथ्वीदेखि करिब ५५० किलोमिटरको दूरीमा हजारौं सेटलाइट राखिसकेको छ। अहिले नै विश्वका सबै स्थानमा इन्टरनेट सेवा दिन सक्ने स्टारलिंकको दाबी छ। ‘लो अर्बिट’ मा स्टारलिंकका सेटलाइट भएकाले इन्टरनेटको ल्याटेन्सी एकदमै कम २५ एमएस भर्सेस ६०० प्लस एमएस छ।
रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको २०८० असोज ३० गते बसेको २९औं बैठकले स्वीकृत गरेको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीतिले पनि सेटलाइट फ्रिक्वेन्सीको विषय समेटेको छ।
सेटलाइट प्रविधिको प्रयोग गरी उपलब्ध हुने दूरसञ्चार सेवाहरुमा प्रयोग हुने फ्रिक्वेन्सीलाई सेटलाइट फ्रिक्वेन्सीको रुपमा परिभाषित गरिएको छ। नीतिले दूरसञ्चार प्राधिकरणले सञ्चार मन्त्रालयसँगको समन्वयमा सेटलाइट फ्रिक्वेन्सी प्रयोगको स्वीकृति दिन सक्ने व्यवस्था गरेको छ।
स्टारलिंकलाई नेपाल भित्र्याउन अमेरिकी दूतावास निकै सक्रिय छ। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै स्टारलिंकको दबदबा संसारभर बढ्ने आकलन गर्न थालिएको छ। आफूले चाहेको व्यक्ति नै राष्ट्रपति निर्वाचित भएपछि मस्कलाई स्टारलिंक विस्तार गर्न अमेरिकी सरकारको समेत सहयोग मिल्ने देखिन्छ।
ट्रम्पलाई राष्ट्रपति निवार्चित गराउन दिलोज्यान दिएका मस्क केही वर्षदेखि स्टारलिंकलाई एसिया क्षेत्रमा स्थापित गराउन लागिपरेका छन्।
स्टारलिंकले नेपालको विद्यमान दूरसञ्चार कानुनअनुसार आफू नेपाल भित्रिन नसक्ने भन्दै परिमार्जन गर्द दबाब दिँदै आएको छ। कुनै पनि विदेशी कम्पनीले नेपालको दूरसञ्चार क्षेत्रमा लगानी गर्दा अधिकतम ८० प्रतिशत हिस्सा राखे पनि बाँकी २० प्रतिशत सेयरमा स्थानीय साझेदार राख्नुपर्ने प्रावधान छ। तर स्टारलिंक स्थानीय साझेदार भित्र्याउने पक्षमा छैन।
प्रतिक्रिया