काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही समयमा कानून नै बनाएर एकीकृत गर्नसके झनै राम्रो हुने बताएका हुन् ।
उनले लक्षित वर्ग स्पष्टसँग छुट्याउन सके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पारे । उहाँले नागरिकलाई दिने सेवा छिचोलेर नभई एकीकृत गरेर प्रभावकारी ढंगबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
उनले सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा छरिएर रहेका कयौँ कार्यक्रमलाई कानून संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक रहेको बताए । सामाजिक सुरक्षा कोषबाट आफ्ना सदस्यका लागि सञ्चालित स्वास्थ्य सहयोग कार्यक्रममार्फतको सेवा स्वास्थ्य बीमा बोर्डबाट प्रदान गर्ने कार्यको थालनी गर्न आवश्यक रहेको स्वास्थ्य मन्त्री पौडेलको भनाइ छ ।
प्रतिक्रिया