काठमाडौँ । चुनावी प्रचारको अन्तिम दिन विभिन्न दलका शीर्ष नेताहरूले कीर्तिपुरमा सम्बोधन गर्ने भएका छन् । १६ मंसिरमा हुने उपनिर्वाचनमा चुनावी प्रचारका क्रममा नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कीर्तिपुरमा चुनावी भाषण गर्नेछन् । काँग्रेसले दिउँसो साढे २ बजे कीर्तिपुरस्थित लोकतान्त्रिक चोकमा गर्ने खुलासभामा महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले ३ बजे कीर्तिपुरस्थित नगाउँ दोबाटोमा हुने सभामा सम्बोधन गर्दैछन् ।
नेकपा एमालेले भने पाँगामा चुनावी सभा गर्दैछ । उक्त सभालाई महासचिव पोखरेल र बागमतीका इन्चार्ज राजन भट्टराईले दिउँसो ३ बजे सम्बोधन गर्नेछन् ।
कीर्तिपुरमा काँग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन उम्मेदवार छन् । दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादीका उम्मेदवारलाई र स्वतन्त्र उठेको नरेश श्रेष्ठले राजमान मानवलाई समर्थन गरेका छन् ।
स्वतन्त्र उम्मेदवार राजमानको पक्षमा धरानका मेयर हर्क साम्पाङले चुनावी सभामा सम्बोधन गर्दै आएका छन् ।
प्रतिक्रिया