काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ वटा मोटरसाइकल र नौ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नयाँ बसपार्क, सोह्रखुट्टे, मालीगाँउ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका ठाउँबाट फेला पारेको थियो ।
कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चर्तुवेदीले हराएका मोटरसाइकल र स्कुटर नम्बर प्लेट नक्कली हालेर चलाएको अवस्थामा फेला पारिएको बताए ।
ट्राफिक प्रहरीले अहिलेसम्म दुई सय १० दुई पाङ्ग्रे गाडी फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । यस्तै चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरेको प्रवक्ता चर्तुवेदीले बताए ।
गाडी चोरी तथा हराउनबाट रोक्न सुरक्षित ठाउँमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया