सबै धर्म,संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

सबै धर्म,संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह


रौतहट । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्था अनुसारको धर्म,संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीसमेत रहेका सिंहले मंगलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढीमाई मेला महोत्सवमा सहभागी हुने क्रममा यस्तो बताएका हुन् ।
नेपाल  बहुधार्मिक,बहुभाषिक र बहुजातीय राष्ट्र भए पनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पुर्खाहरूको ठुलो योगदान रहेको सिंहको भनाई थियो । आ-आफ्नो धर्म संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए । नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक छ ।

विगतमा हाम्रा पुर्खाहरूले मिलीजुली समाजमा राम्रो वातावरण बनाए । आउने दिनहरूमा पनि हाम्रो पुर्खाहरूले देखाएको बाटोलाई अनुसरण गर्नुपर्छ उनले भने, आआफ्नो आस्थाअनुसार  धर्मसँस्कृति अनुसार पाठपूजा, जात्रा,महोत्सव गर्न सक्ने माहोललाई जोगाएर अघि बढ्न सक्नुपर्छ । उनले गढीमाई मेला महोत्सवको सफलताको शुभकामना पनि दिए ।

राजनीति स्थायित्व र स्थिरतामा वर्तमान सरकारले जोड दिएको भन्दै उनले  बिग्रिएको अर्थतन्त्रको लय ठिक ठाउँमा ल्याउन सरकारले काम गरिरहेको बताए ।