मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताए ।

‘मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ’, राष्ट्रपति पौडेलले भने, ‘मुलुकमा मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन हुन सके मानवअधिकारको प्रत्याभूतिबाट कोही पनि नागरिक वञ्चित हुने थिएन, सदैव सर्वसाधारण जनताका लागि आस्था, विश्वास र भरोसाको केन्द्र बनेछ।’

राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, प्रेस स्वतन्त्रतालगायत आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतारी मानवअधिकारको परिपालना गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ सबैको ध्यान जान आवश्यक भएको बताएका छन् ।