शिक्षा मन्त्रालयद्वारा विद्यालय तह परीक्षा सुधार गर्न सुझाव माग

शिक्षा मन्त्रालयद्वारा विद्यालय तह परीक्षा सुधार गर्न सुझाव माग


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको परीक्षा प्रणाली सुधार गर्न सुझाव मागेको छ । सरोकारवाला निकायलाई १५ दिनभित्र राय सुझाव दिन मन्त्रालयले मंगलबार आग्रह गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको संरचनासहित कक्षा १० र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार, कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण, कक्षा ९ र ११ मा गरिने रजिष्ट्रेसन शुल्कका विषयमा पुनरावलोकन गर्न मन्त्रालयले सरोकारवालासँग राय मागेको हो ।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डको संगठन संरचना तथा कर्मचारी समायोजन र व्यवस्थापनमा पनि राय सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ ।

परीक्षा सुधारका लागि मन्त्रालयले पूर्वसचिव शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्य उच्चस्तरीय कार्यदल गठन गरेको थियो । सरोकारवाला निकायबाट राय सुझाव आएपछि कार्यदलले प्रतिवेदन तयार गर्नेछ ।