काठमाडौँ- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लमजुङ बेसीशहर नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका-८ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरुङ रहेका छन् ।
उनीहरूले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ४० हजार र अर्को पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
सोही पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ भाटभटेनीबाट मंगलबार र काठमाडौं पासीकोटबाट बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया