काठमाडौं – इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी बासले हमास लडाकुहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन् ।
आज (बिहीबार) राजधानीमा पत्रकारहरूसँगको छलफलमा राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताएका हुन् ।
‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन् । तर, उहाँलाई कहाँ राखिएको छ र अहिले उहाँ कुन अवस्थामामा हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन,’ उनले सुनाए । ‘हामी उहाँ चाँडै नेपाल फर्कनु हुने आशा गर्छौं । उहाँ अपहरणमा परेका कैयौँ व्यक्तिहरूमध्ये रिहा हुनेमध्ये एक हुनुहुनेछ भन्ने विश्वास छ ।’
राजदूतावासका अनुसार हमास लडाकुहरूको कब्जामा १०० भन्दा बढी इजरायली र विदेशी नागरिक अझै पनि बन्धक छन् । ‘म जोशीको परिवार र अन्य व्यक्तिहरूले उहाँको बारेमा कस्तो महसुस गरिरहनु भएको छ भनेर बुझ्न सक्छु । विपिन धेरै महत्वपूर्ण हुनुहुन्छ । तर, हामीले बुझ्नुपर्छ, विपिन जस्ता अरू पनि धेरै छन्,’ उनले भने ।
सन् २०२३ अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभलमा सहभागी सबैलाई र वरपरका क्षेत्रमा बस्नेहरूमाथि हमास लडाकुहरूले आक्रमण गर्दा इजरायलमा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत रहेका १० नेपाली विद्यार्थीको क्रुर हत्या भएको थियो । ११औं विद्यार्थी विपिन जोशीलाई हमासले अपहरण गरेका थिए ।
राजदूतावासका अनुसार इजरायली सरकारले मारिएका ती नेपाली विद्यार्थीका परिवारलाई इजरायली नागरिकका परिवारले जस्तै आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । उनले नेपालका विद्यार्थीहरू फेरि इजरायलको ‘अर्न एन्ड लर्न’ कार्यक्रममा सहभागी हुने आशा पनि व्यक्त गरेका छन् ।
नेपालले हालको युद्ध अवस्थालाई ध्यानमा राख्दै कृषि विद्यार्थीलाई उक्त कार्यक्रमअन्तर्गत इजरायल पठाउन रोकेको छ।
तर, मलावी, कङ्गो र थाइल्याण्डका विद्यार्थीहरूले उक्त कार्यक्रमअन्तर्गत इजरायल फर्कन सुरु गरिसकेको जानकारी दिँदै राजदूतले भने, ‘इजरायली कृषिकर्ताहरू नेपाली विद्यार्थीहरूलाई फिर्ता ल्याउन चाहन्छन्, जहाँ उनीहरूले सिक्न र कमाउन सकुन् । हामी यो कार्यक्रम चाँडै पुनः सुरु हुने अपेक्षा गर्दछौं ।’
प्रतिक्रिया