काठमाडौँ- गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धी थप सम्झौता कांग्रेससँगैको सहमति भएको बताएका छन् ।
नेपाली काँग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआई सम्झौता काँग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको बताएका हुन् ।
‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धी थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली काँग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन,’ उनले भने । गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने आवश्यक रहेको भन्दै बीआरआईमा ऋण लिने कुरा नभएको बताए । ‘काँग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ । अब यसको ठीक कार्यान्वयन लाग्नुपर्छ,’ उनले भने ।
यस्तै काँग्रेस र एमाले मिलेर बनेको राजनीति समीकरणको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको उनले बताए ।
‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कहीँ मान्छेलाई मन्त्री बनाउन बनेको होइन’ उनले भने, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो।’
संविधान संशोधनको विषय उठेको भन्दै संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने बताए । संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसकेको उनको भनाइ छ । काँग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुराउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो ।
‘वर्तमान व्यवस्थामाथि आक्रमण हुँदै छ । यो संविधानमाथि आक्रमण हुँदै छ । यसलाई सुरक्षित गर्नु काँग्रेसको पहिलो दायित्व हो,’ उनले भने, ‘नेपाली काँग्रेस बलियो नभएर लोकतन्त्र र यो व्यवस्था बलियो हुँदैन । कोशी प्रदेशको प्रथम सम्मेलन बलियो, प्रभावकारी, नेतृत्वदायी काँग्रेस निर्माणमा कोसेढुंगा साबित हुनेछ ।’
प्रतिक्रिया