कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत

कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत


बागलुङ – बागलुङ नगरपालिका-७ कालीमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु. एक लाख ५० हजार बचत गर्दै आएका छन् ।

स्थानीय ओमराज शर्माले सञ्चालन गरेका कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र वर्ष कतार बसेर फर्किएका शर्माले कुखुरा पालनमा आम्दानी र जोखिम बराबर रहेको बताए ।

“तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भने । एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक रु. एक लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताए ।

अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण  मूल्य भने अस्थिर हुने गरेको उनले बताए । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । कुखुरा पालनभन्दा गाई बाख्रा पाल्न सहज हुने उनको अनुभव छ । त्यसैले अब उहाँ व्यावसायिक रूपमा गाई र बाख्रा पालनको योजना कार्यान्वयनमा छन् ।