बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेलको घट्यो

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेलको घट्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आज (आइतबार) मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो ।

डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ । समायोजित मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ ।

योसँगै अब काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ। यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्ने नेपाल आयल निगमले जनाएको छ ।