काठमाडौँ। रुपन्देहीको भैरहवामा आयोजित नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव सम्पन्न भएको छ । सुस्ताएको अर्थतन्त्र र बजारलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजना मंसिर २० देखि पुस १ गतेसम्म महोत्सव सञ्चालन भएको थियो ।
महोत्सवमा क्रेता-विक्रेताबीच प्रत्यक्ष भेटघाट भएको र यसले उद्योगी-व्यवसायी र उपभोक्ताबीचको सामीप्यलाई अझै प्रगाढ बनाएको आयोजकले जनाएका छन् ।
‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव आन्तरिक र भारतीय गरी करिब ३ लाख दर्शकले अवलोकन गरेको र करिब १० करोड रुपैयाँको कारोबार भएको आयोजक संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले सबै उत्पादनको एकै थलोमा प्रदर्शनी गरिँदा आर्थिक क्षेत्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
उनले मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै ऐन, कानून सुधार र परिमार्जन गरेर भए पनि पर्यटकीय वातावरण बनाउनुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विशिष्टीकृत मेला महोत्सवले आर्थिक गतिविधिलाई बढावा दिने बताए ।
उनले राजनीतिक स्थिरता नहुँदा उद्योगी(व्यवसायी, आमनागरिकले समस्या भोगिरहेको जनाउँदै यस्तै अवस्था रहे सरकार पनि कठिन मोडमा पुग्न सक्ने बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले अहिले निजी क्षेत्र निराश बनिरहेको जनाउँदै पर्यटनका माध्यबाट यसलाई माथि उकास्नु पर्नेमा जोड दिए ।
संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सवमा मुलुकका ४० जिल्लाका उत्पादन प्रदर्शनी गरिएको बताए ।
समापनमा र्याली, स्टल, भैरहवा आइडल, भ्वाइस अफ भैरहवा, मेहन्दी प्रतियोगिता, विद्यालयस्तरीय नृत्यमा उत्कृष्ट भएकालाई नगदसहित पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया