काठमाडौँ-गत असोज दोस्रो साता आएको बाढी पहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पुनः सञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय प्रसारण लाइनमा जोडिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउँदयाममा विद्युत् व्यवस्थापन गर्न कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर)मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको उनको भनाइ छ ।
माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रको विद्युत् केही कटौती भए पनि अन्य ग्राहकका लागि विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।
हिउँदयाममा खोला तथा नदीमा पानी घट्दा नदी प्रवाही (रन अफ रिभर-आरओआर) जलविद्युत् आयोजनाको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक आवरमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
माथिल्लो तामाकोसी यही पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने गरी मर्मत भइरहेको छ । प्राधिकरणका अनुसार हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर-मुजफ्फपुर चार सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत छ सय मेगावाट र टनकपुर-महेन्द्रनगर एक सय ३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक छ सय ५४ मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति दिएको छ । तर, पिक आवर साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था छ ।
चैत ३ गते २०८१ देखि असार १६ गते २०८२ (१६ मार्च-३० जुन २०२५) सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोसी बन्द रहेको र पिक आवरका चार घण्टा भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।
प्रतिक्रिया