काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् । आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो ।
उनलाई बाहिरै राखेर अनुसन्धान गर्ने गरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि प्रहरीले रिहा गरेको हो । उनलाई आजै अदालतमा उपस्थित गराएर हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति माग गरेको थियो ।
तर नवराज दाहालको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो । हिरासतमा लामिछाने सुतिरहेको तस्वीर सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाहीको माग गर्दै बिरोध गरिरहेको थियो । तर तस्वीर आफूले खिचेको भन्दै निकोलसले सामाजिक सञ्जालमार्फत स्वीकार गरेका थिए । उनले आफूले रवि लामिछानेलाई भेटेर फर्किने क्रममा सीसीटीभी मनिटर रुमबाट तस्वीर लिएको बताएका थिए ।
प्रतिक्रिया