काठमाडौं । नेकपा एमालेले पार्टी नेता भीम रावललाई संगठित सदस्यबाट निष्काशन गरेको छ । आज (बुधबार) पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरु पार्टी हित विपरीत रहेको भन्दै संगठित सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको ज्ञवालीले जानकारी दिए ।
त्यस्तै बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले सरकारको काम कारवाहीका सन्दर्भमा सन्तुष्ट रहेको भन्दै सरकारका काममा गति ल्याउनु पर्ने आवश्यकताबोध गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । वर्तमान सरकारका कारण आर्थिक अवस्था सुुधार हुँदै गएको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुदै गएको उनले बताए ।
केन्द्रीय कमिटीको बैठक पुस २१ र २२ मा बस्ने
सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक पुस २१ र २२ गते हुने निर्णय गरेको हो । अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ । त्यस्तै पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ । मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न नसकेको एमालेको प्रारम्भिक विश्लेषण छ । यद्यपि उसले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ ।
प्रतिक्रिया