उनले भनिन् “जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र यससँग जुध्न नेपालले गरिरहेका प्रयासहरूका बारेमा संयुक्त राष्ट्रसंघका विभिन्न फोरमहरू एवं जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरूमार्फत विश्व समुदायसमक्ष हामीले स्पष्ट र सशक्त रूपमा राख्दै आएका छौँ । आगामी दिनहरूमा यसलाई थप सशक्त बनाउनु जरुरी छ ।”
अजरबैजानको बाकुमा सम्पन्न २९औँ विश्व जलवायु सम्मेलन एवम् अन्तर्राष्ट्रिय न्यायालयमा नेपालको उपस्थितिबारे छलफल गर्न वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार काठमाडौँमा आयोजित समीक्षा कार्यक्रममा उनले सो धारणा राखिन् ।
मन्त्री डा. राणाले गत डिसेम्बर ९ मा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले ‘जलवायु परिवर्तनका सम्बन्धमा राज्यको दायित्व’ सम्बन्धमा पहिलो पटक नेपालका आधारहरू मौखिक रूपमा प्रस्तुत गरेको जानकारी गराइन् ।
सो अदालतमा सुनुवाइका क्रममा आफूले नेपालले कहिल्यै नगरेको गल्तीको सजाय भोगिरहेको कुरा सशक्त रूपमा उठाउँदै जिम्मेवार विकसित राष्ट्रहरूले जलवायु संकट समाधानमा पनि उत्तिकै जिम्मेवारी लिई जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्नेमा जोड दिएको जानकारी मन्त्री डा. राणाले दिइन् ।
नेपालजस्तो संवेदनशील भू-बनोट भएको पर्वतीय मुलुकका लागि जलवायु परिवर्तनको प्रभाव गम्भीर रहेको भन्दै उनले नेपालका हिमालहरू पग्लिरहेका, जैविक विविधतामा ह्रास आइरहेको, प्राकृतिक विपत्तिहरू बढ्दै गएको र जसका कारण नेपालको अर्थतन्त्र, सामाजिक जीवन र वातावरणमा नै नकारात्मक असर पारिरहेको उनले बताए।
इसिमोडको एक प्रतिवेदनले यही गतिमा कार्बन उत्सर्जन भइरहेमा यस शताब्दीको अन्त्यसम्ममा हिन्द कुश हिमालयमा रहेका हिमनदीहरूले ८० सम्म हिउँको मात्रा गुमाउने देखाएकाले यो नेपाललगायत पर्वतीय मुलुकका लागि चिन्ताको विषय रहेको उनको भनाई थियो ।
पर्वतीय क्षेत्र सबैभन्दा बढी जलवायु जोखिममा परेकाले त्यहाँका नागरिक अन्यत्रै जान बाध्य भएका र जलवायु परिवर्तनले मानिसको आधारभूत मौलिक अधिकारमा समेत खलल पारेको भन्दै मन्त्री डा. राणाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै मुलुकको साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिए ।
जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत जटिलता, कोषको बाँडफाँटमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरूसँग गहन छलफल हुन जरुरी रहेको उनको भनाई थियो ।
उनले भनिन्, “त्यसैले पनि जलवायु परिवर्तनको वित्तीय समस्या समाधान गर्न, हानी नोक्सानी कोष परिचालन गर्न र हिमाल लगायतका विषयको उचित सम्बोधन गर्ने दिशामा अन्तर्राष्ट्रिय स्तरमा थप सहकार्य गर्न जरुरी देखिन्छ ।”
उनले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न नेपालले आफ्नो अनुकूलन क्षमतालाई पनि बलियो बनाउँदै जानुपर्नेमा जोड दिइन् ।
जलवायु परिवर्तनका कारण प्रत्यक्ष प्रभावित भएका समुदायहरूलाई सहयोग पुर्याउन विशेष योजना र कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, जलविद्युत् र सौर्य ऊर्जा प्रवर्धन गरी दिगो र हरित ऊर्जामा जोड दिनुपर्नेमा मन्त्री डा. राणाको जोड थियो ।
प्रतिक्रिया