महोत्तरी- नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरू महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।
मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए । विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो ।
मटिहानीको स्वागत ग्रहणपछि टोली आज जलेश्वर नगरपालिकातर्फ अघि बढेको थियो । जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरूको स्वागत गरेका थिए। नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुशी व्यक्त गरेका थिए ।
त्यस अवसरमा नगरप्रमुख सोनारले खेलमार्फत मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए। विजयी टोली जलेश्वरबाट एकडारा गाउँपालिका, मनराशिशवा नगरपालिका, सम्सी र सोनमा गाउँपालिकाका विभिन्न बस्तीहरूमा विजयोत्सव मनाउँदै सर्लाहीतर्फ प्रस्थान गर्नेछन् ।
जनकपुर बोल्टस्का प्रबन्ध निर्देशक निरज खतिवडाले आम नागरिकको चासो र आफूहरूले जितमा देखिएको खुसी एवं आत्मीयताबाट आफूहरूलाई ऊर्जा मिलेको बताए ।
जनकपुर बोल्टस्ले एनपिएल जितेको खुशियालीमा मधेस प्रदेशका आठ वटै जिल्लामा विजयोत्सव मनाउँदै छ । शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको ‘ट्रफी परेड’ आज महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो । टोलीले आइतबार बारा र पर्सा, सोमबार सिरहा र सप्तरी पुग्ने तालिका छ ।
प्रतिक्रिया