काठमाडौँ- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालीन चिडियाखानाको रूपमा विकास गर्न महानगर लगानी गर्न तयार रहेको बताएका छन् ।
आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौँ न । विदेशतिर रात्रिकालिन ‘जू’ हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरेँ । हामीकहाँ यो सम्भावना छ कि छैन रु एक पटक अध्ययन गरौँ न,’ मेयर महर्जनको प्रस्ताव छ ।
सदर चिडियाखानालाई रात्रिकालीन रूपमा चलाउनको लागि सम्भव भएरनभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत उनले गरेका छन् ।
‘अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नको लागि म विशेष अनुरोध गर्न चाहन्छु । किनभने यहाँ रात्रिकालीन क्रियाकलापहरू छैनन् । रात्रिकालीन क्रियाकलापहरू शहर नजिकै रहेको ठाउँमा थोरै ठाउँमा सुरु गरौँ,’ उनले भने ।
साथै, आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरू सबै पुरा भइसकेको उनको दाबी थियो ।
‘म मेयर भइसकेपछि चिडियाखानासँग एक प्रकारको सम्बन्ध बनाएर प्रतिबद्धता व्यक्त गरेको थिए त्यो सबै पूरा भइसकेको छ । केही पनि बाँकी छैन,’ उनले भने ।
प्रतिक्रिया